काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभएको छ ।
तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसक्नुभएको छ ।
नेता श्रेष्ठले सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहेपनि बैठकले ठोस निर्णय गर्न सक्ने बताउनुभयो ।