काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बदल्ने गठबन्धनको खेलमा नलागेको बताउनुभएको छ।
एमाले अहिले मिसन ८४ मा लागेको उहाँले बताउनुभयो। विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको पनि बताउनुभएको छ ।
अध्यक्ष ओली कांग्रेस प्रति भने आक्रामक बन्नुभएको छ । कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको उहाँको आरोप रहेको छ । ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिँदै भन्नुभयो, यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ । कांग्रेसले विधान संशोधन गर्ने भनेर महासमितिबाट पास गरेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले यतिकै कांग्रेसले ब्ल्याक फायर गरेको बताउनुभयो ।
प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने उहाँको भनाइ रहेको छ । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उहाँको आरोप रहेको छ ।