काठमाडौं । नेपालमा बाह्य अर्थतन्त्रको प्रभाव सकारात्मक भइरहेका बेला आन्तरिक अर्थतन्त्र भने थप धराशायी बन्दै गएको छ । बाह्य अर्थतन्त्र नकारात्मक दिशामा गएको बताउने अर्थ विश्लेषकहरू आन्तरिक गति हेरेर निराश बनेका छन् । अर्थविद्हरूले अहिलेकै गतिमा अर्थतन्त्र रहे यसले दूरगामी असर पार्ने औँल्याएका छन् । करिब २४ खर्ब ऋणको भारी बोकेको नेपाललाई ऋणकै ब्याज र सावा तिर्नै हम्मेहम्मे देखिन्छ । पुँजीगत खर्चको अवस्था हेर्दा निराशाजनक रहेको छ । ऋण काढेर विकास निर्माणमा खर्च नगर्ने हो भने यसले च्याप्दै जाने खतरा पनि बढेको छ । तर, सरकार रेमिट्यान्स र सञ्चित रहेका रकमलाई हेरेर मक्ख परेको देखिन्छ । राजश्व संकलन र पुँजीगत खर्चको अवस्था दयनीय रहेको बताउँदै अर्थविद् डा. दिलनाथ दंगालले केही व्यक्तिहरूको कब्जामा पुँजी रहेको दाबी गर्नुभयो ।
आन्तरिक उत्पादन दिनप्रतिदिन घटिरहेको छ । खेतबारी बाँझो रहनेक्रम बढेको छ । राज्यले कृषिलाई प्रोत्साहन गर्ने नीति ल्याउन नसक्दा थप समस्या निम्तिएको छ । केहीवर्ष अघि खाद्यान्न निर्यात गर्ने सूचीमा रहेको नेपाल अहिले छाक टार्न परनिर्भर बन्दै गएको छ । आपूर्ति प्रणाली र वितरण प्रणाली पनि असमान हुँदा व्यवसायीहरू पनि मर्कामा परेको अर्थविद् डा. रघुवीर विष्टको भनाइ छ ।
बैङ्कहरूमा निक्षेप थुप्रिएको छ तर, उद्योगी, व्यवसायीहरू ऋण लिन डराइरहेको परिस्थिति बनेको छ । एक अंक ब्याजदरमा लिएको ऋण महिना नपुग्दै डबल अंक हुने दृष्टान्तका कारण रकम जाम भएको हो । कुल ग्रार्हस्थ उत्पादनको ५० प्रतिशतसम्म ऋण लिन आपत्ति नरहेपनि आएको रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुने अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ ।
बढ्दो रेमिट्यान्सको भरमा मुलुकको अर्थतन्त्र मजबुत हुन्छ भन्नु पानीमा आगो बाल्नुजस्तै हो तर केही समयका लागि यसले राहत गर्ला दीर्घकालीन समाधान होइन । मुलुकको अर्थतन्त्र कमजोर बन्नुमा हालको व्यवस्थाले पनि भूमिका खेलेको छ । एक दललाई बहुमत नपुग्ने र विभिन्न महत्त्वाकाङ्क्षा बोकेकाहरूको अनिश्चित साँठगाँठका कारण लोभ पाप पलाउँदै जाँदा अर्थका सूचक सकारात्मक हुन सकेका छैनन् ।