काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निस्शुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताउनुभयो ।
गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।