काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले हिउँदे अधिवेशनलाई विद्येयक अधिवेशनमा केन्द्रित गरी बढि भन्दा बढि विद्येयकहरु दर्ता हुने, ति माथि छलफल हुने र कानुन बन्ने बाटोमा जाने परिरिस्थिती निर्माण हुनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले टिआरसी विद्येयक पास गरौं भनेर सबैभन्दा धेरै आफूहरु दबाबमा रहेको बताउँदै यसमा भएका केहि महत्वपूर्ण विषयहरुमा सरकार र सत्ता गठबन्धनमा रहेका सांसदहरुको धारणा के हुन्छ भन्ने कुरा स्पष्ट नभएको तर्क गर्नुभयो ।
यस्तै फौजदारी अभियोगको बारेमा, सर्वोच्च अदालतको फैसलाको नजिरका बारे र अन्तरािष्ट्रय अदालतका मूल्यमान्यताका बारेमा सत्ता गठबन्धनका सांसदहरुले गर्न खोजेको के हो र त्यसमा एमालेको अडान स्पष्ट रहेको पनि नेता गैरेले बताउनुभयो ।
एमालेले राखेको विषयमा गठबन्धन तयार हुनासान टिआरसी विद्येयक पास हुने र यसमा आफूहरुको तर्फबाट कुनै अवरोध नहुने गैरेले स्पष्ट पार्नुभयो ।
यस्तै अहिलेको गठबन्धनको सरकार बनेपछि बनेका २१–२२ वटा आयोगहरुले अहिलेसम्म कुनै पनि रिपोर्टहरु नबुझाएको र कार्यान्वयन पनि नभएको अवस्थामा यसको खोजी गर्ने, अस्तव्यस्त रहेको विकास निर्माणका काम, बजेटको कार्यान्वयन र सुनिश्चितता नभएको, ठेक्काप्रक्रिया सुरु नभएको यस्ता बेथिति विसंगतीहरु र अराजकताको बारेमा एमालेले कुरा उठाउने पनि नेता गैरेको भनाइ छ ।
यस्तै अघिल्लो सेसनमा सरकारले भनेको आगामी वर्षको निति तथा कार्यक्रम र बजेटको बारेमा पुरक बजेट आउनपर्ने, फागुनमा सिद्धान्त र प्राथमिकताकोबारे छलफल गराउने भनेर भनेको कुराकाबारे के भइरहेको छ भन्ने पनि उठाउने र नेपाल भारतबीच भएको विद्युत व्यापारसम्बन्धि भएको सम्झौताहरुको बारेमा स्पष्टताको खोजी हुने लगायतका विषय हिउँदे अधिवेशनमा उठाउने नेता गैरेले बताउनुभयो ।
सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको २२ गते बोलाउन सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते दिउँसो ४ बजे सङ्घीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।