राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टीले गर्ने आन्दोलनबारे योजना भइरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले आन्दोलनबारे छलफल भइरहेको बताउँदै अब एक डेढ हप्तामा सबै निर्णय भएर आफूहरु फिल्डमा उत्रिने बताउनुभयो ।
डुब्न लागेको देशलाई बचाउन सकिन्छ की, केहि राम्रो काम गर्न सकिन्छ की भन्ने भएर प्रचण्ड सरकारमा गएको स्मरण गराउँदै नेता राणाले ४० दिन मै खेमा बदलिएका, समिकरण बदलिएका प्रचण्ड सरकारमा गएर ठुलो भुल भएको महसुस गरेरै आफूहरु सरकार र मन्त्रीबाट राजीनामा दिएर विपक्षीको बेन्चमा बसेको स्पष्ट पार्नुभएको छ । प्रचण्डको फितलो मनस्थिती देखेर आफूहरु तर्सिएको बताउँदै यतिबेला आफूहरुले विपक्षीको सशक्त भुमिका निभाइरहेको नेता राणाको भनाइ छ ।
यस्तै अर्को प्रसंगमा नेता राणाले कोशी प्रदेशको सम्बन्धमा बैठक राखेर छिट्टै टुङग्याउने स्प्ष्ट पार्नुभएको छ । सभामुख अम्बरबहादुर विष्टलाई फिर्ता बोलाउनेबारे पार्टीमा एकमत रहेको पनि नेता राणाले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै बाहिर सार्वजनिक भएजस्तै पार्टीमा दुई धार नदेखिएको दाबी गर्दै विचार फरक भए पनि पार्टीमा कुनै पनि विवाद र समस्या नभएको स्प्ष्ट पार्नुभयो ।