काठमाडौं । विपद् व्यवस्थापनका लागि नेपालमा नयाँ अभ्यास सुरु गर्न लागिएको छ ।
एसियन इनष्टीचयुड अफ टेक्नोलोजी (एआइटी)का प्राध्यापक इन्द्रजीत पलको अवधारणालाई विश्व बैंकको सहयोगमा धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिकामा लागू गर्न लागिएको हो ।
वेनीघाट रोराङ्ग गाउँपालिकाको कार्यालयमा आयोजित विषेश समारोहमा गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले थाईल्याण्डमा रहेर अध्ययन अनुसन्धान र प्राध्यापन गर्दै आउनु भएका प्राध्यापक पलकै उपस्थीतिमा गाउँपालिकामा यो नयाँ अभ्यास लागु गर्न लागिएको जानकारी दिनुभयो ।
विपद्को दृष्टीले नेपालको सबैभन्दा धेरै जोखिममा रहेकोले धादिङ्गबाट यो अभ्यास सुरु गर्न विश्व बैंक तयार रहेको प्राध्यापक पालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै पनि विपद् सम्बन्धि घटना हुनासाथ एप मार्फत सरोकारवाला निकायलाई जानकारी गराउने अवधारणालाई विश्व बैंकले नौलो र प्रभावकारी हुने ठानेर सहयोगका लागि छनौट गरेको हो ।
यो अभ्यास लागू गर्नका लागि विपद् सम्बन्धि एउटा एप बनाइने र त्यस मार्फत स्थानीय बासिन्दाले विपद् सम्वन्धी कुनै पनि घटनाको बारेमा फोटो तथा भिडियो खिचेर पठाउन अभिप्रेरित गरिने प्राध्यापक पलले बताउनु भयो ।
फोटो तथा भिडियो मार्फत सुचना पाएपछि उद्धार तथा व्यवस्थापनका लागि धेरै सहज र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष थापलियाले विश्वास व्यक्त गर्नुभयो ।
यो अभ्यास यसअघि धादिङ्गकै निलकण्ठ नगरपालिकामा परिक्षण गर्दा सफल र प्रभावकारी पुष्टि भएपछि औपचारिक रुपमा बेनीघाटमा लागू गर्न लागिएको हो । यस अभ्यासलाई क्रिस्ष्टा परियोजना नाम दिइएको छ ।
स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थीतिमा गाउँपालिका र परियोजनाको तर्फबाट परियोजनाको सम्झौता पनि गरिएको थियो ।