काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएको भन्दै उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान न्याम्सका पदाधिकारीसँगको छलफलमा उहााले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो।
वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको प्रधानमन्त्रीले बताएको उहाँको सचिवालयले जनाएको छ । वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उहाँको जोड छ ।
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनु भएको छ ।
छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।