काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी पक्राउ पर्नुभएको छ। विभिन्न माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिनुभएका डा. केसीसहित सात जना पक्राउ परेको डा. केसीका सहयोगी डा. प्रितम सुवेदीले जानकारी दिनुभयो ।
डा. केसीले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ गरेर थुन्न खोज्नु प्रचण्ड सरकारको तानाशाही प्रवृत्ति भएको टिप्पणी गर्नुभएको छ।
यस्तै विभिन्न माग राखी माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने क्रममा उहाँहरू पक्राउ पर्नुभएको हो। डा केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउन माग गर्नुभएको छ।
यस्तै नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने र यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरिएको छ।