काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले इश्युगत रुपमा कुनै पनि मुद्दामा संसदीय समितिहरु निष्क्रिय नभएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिलाई व्यक्तिगत स्वार्थको रुपमा नलिएको स्पष्ट पार्दै देशका मुद्दा, जनताका ईश्यु र मुद्दालगायतका विषयमा छलफल हुने बताउनुभयो ।
देशव्यापी अवस्था हेर्दा जनतामा निराशाबादी धेरै देखिएको अवस्थामा मुलुकको विकाश हुन नसक्ने बताउँदै सभापति खतिवडाले यो विषयमा सरकार गम्भिरतापूर्वक जानुपर्ने आफूहरुको धारणा रहेको पनि स्पष्ट पार्नुभएको छ ।
आफूहरु समसामयिक इश्यु र बस्तुगत आधारमा जनताका आवाजहरु संसदीय समितिमार्फत प्रस्तुत हुने सभापति खतिवडाको भनाइ छ । बनाउनुपर्ने कतिपय कानुन र नियमहरु पनि समितिमार्फत छिटो भन्दा छिटो निर्माण गरेर अगाडि बढाउन तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
रािष्ट्रय सभाको निर्वाचन सम्पन्न भइसकेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने पनि सभापति खतिवडाको भनाइ छ । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।
संसदीय समितिहरुमा छलफल र विद्येयकहरु पारित गरिसकेपछि संसदमा लाने बताउँदै सभापति खतिवडाले राष्ट्रिय सभाको निर्वाचन सकिए लगत्तै संसदका दुवै बैठक बस्ने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ भने आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।