काठमाडौं । बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘मेघमानव’ उपन्यास आज लोकार्पण गरिएको छ।
नेपाली लेखक सङ्घको आयोजनामा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्व तथा वरिष्ठ आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा कमलादीस्थित यूनिग्लोब कलेजमा सम्पन्न सो कार्यक्रममा मञ्चमा आसीन व्यक्तित्वहरूबाट उपन्यास ‘मेघमानव’को सामूहिक रूपमा लोकार्पण भएको हो।
कार्यक्रममा प्रमुख अतिथि डा.गौतमले उपन्यासमा धेरै कुराहरू चाहिन्छ र एउटा नभई नहुने कुरा भनेको कल्पनाशीलता हो जुन कुरा मेघमानवमा प्रचुर रूपमा रहेको बताउनुभयो । सानै उमेरमा अरू विधामा कृति निस्केको थाहा भएपनि उपन्यास निस्केको थाहा नभएको बताउँदै उहाँले जुन कुरा अर्चितबाबुले पूरा गरिदिएको बताउनुभयो।
कवि तीर्थ श्रेष्ठले संसारमा सानै उमेरमा धेरै प्रतिभाहरू उदाएका बताउँदै भन्नुभयो, ‘कसैले उचित मौका र स्थान प्राप्त गर्न सकेका छन् त कसैले सकेका छैनन् अर्चितबाबुको हकमा उनका अभिभावकले त्यो मौका उपलब्ध गराए’। प्रस्तुत उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढङ्गले सामाजिक एवम् राजनीतिक विषयवस्तुलाई उठाएको उहाँको भनाई छ।
समालोचकीय मन्तव्य व्यक्त गर्दै डा. शैलुन्दुप्रकाश नेपालले अर्चितबाबुले सानै उमेरमा देशको राजनीतिक,सामाजिक एवम् ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यास मार्फत प्रस्तुत गरेर एउटा अभिलेख खडा गरेको बताउनुभयो।
त्यसैगरी,अर्का समालोचक डा. अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको बताउनुभयो।
उपन्यासकार अर्चितबाबु मर्सिफुलले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै दन्त्यकथा कथा महाभारत जस्ता कथाहरू सुनेर आफू प्रभावित तथा प्रेरित भएको कुरा बताउँदै पहिलो उपन्यास लेखन र प्राप्त हौसलाबाट ‘मेघमानव’ लेख्न सफल भएको बताउनुभयो।
बाह्र वर्षकै उमेरमा ‘पञ्चमणि’ नामक उपन्यास लेखेर प्रकाशन गरेका अर्चितबाबु मर्सिफुलको यो दोस्रो उपन्यास हो।
कार्यक्रममा अन्य साहित्यकारहरू बलदेव शर्मा मजगैया, नरेन्द्रबहादुर श्रेष्ठ, कलानाथ दाहाल, युवराज मैनाली, शंकर भारती, वियोगी बुढाथोकी, जयदेव भट्टराई, नरेन्द्र पौडेल, विनोद नेपाल, सुभाषचन्द्र पौडेल, सन्ध्या पहाडी, गोकुल अधिकारी, दुर्गाकिरण तिवारी लगायत साहित्यप्रेमी तथा पारिवारिक सदस्यहरू एवम् पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डा. रत्नमणि नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने यूनिग्लोब कलेजका एक्जुकेटिभ डाइरेक्टर मनसुन के।सी। ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।