काठमाडौं । नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले अहिलेको सरकारले आफूहरुले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले सरकार गठनको बेला विगतमा जे प्रतिवद्धता गरिएको थियो ती कुनै पनि कुराहरु कार्यन्वयन र पुरा नभएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आफ्नो कार्यमा सन्तुष्ट नदेखिएको बताउनुभयो ।
हिजो मंगलबार आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसारमा सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयम्ले सरकार असफल नभएको तर सोचेअनुरुप काम गर्न नसकेको जिकिर गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो हुटहुटी अनुसारको परिणाम निकाल्न नसकेको स्वीकार्दै अब सरकरको कार्यशैली बदल्ने घोषणा समेत गर्नुभएको छ ।
नेता रायमाझीले हिजो प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीप्रति र आफ्नै कामप्रति गुनासो बाहेक अरु नपाएको स्पष्ट पार्नुभएको छ ।
काम नगरेका मन्त्रीलाई तत्कालै हटाउने अधिकार पाउनुभएका प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरुले राम्रो काम गरेनन् भनेर भन्ने छुट नभएको बताउँदै नेता रायमाझीले यस्तो कुरा सार्वजनिक रुपमा आएर भन्न आवश्यक नै नभएको स्पष्ट पार्नुभयो । जनताको डेलिभरीमा लाग्ने र जनताका कुरा सुन्ने समयमा प्रधानमन्त्री प्रचण्डले वक्तव्यबाजी गर्नुको कुनै पनि तुक नरहेको नेता रायमाझीको भनाइ छ ।
प्रधानमन्त्रीले एउटा कुरा गर्ने र सचिवालयले अर्को निर्णय गरिरहेको आरोप लगाउँदै नेता रायमाझीले प्रधानमन्त्री आफ्नो सचिवालयको प्रभावमा परेको बताउनुभयो । इच्छाशक्ती भएको देखिने प्रधानमन्त्रीले काम भने केहि पनि गर्न नसकेको नेता रायमाझीको आरोप रहेको छ ।