काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं १ का मात्रै नौ जना संक्रमित रहेका छन् भने कर्णाली प्रदेशका २ गण्डकी प्रदेशका १ जना छन् ।
मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेर्ह्रहथुमका दुईरदुई जना छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै संक्रमणबाट कर्णालीमा आज दुईजनाको मृत्यु भएको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिकाका ३३ वर्षीय पुरुष र सुर्खेत गुर्भाकोट नगरपालिकाका २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत एक सशस्त्र प्रहरी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार बाग्लुङको ढोरपाटन नगरपालिका– ७ का २५ वर्षीय उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।