काठमाडौं । सत्तारुढ दल नेकपाका अगाडि राज्यका निकायमा रहेकाहरु निरिह भएको आरोप बढ्न थालेको छ । विषेश गरेर प्रहरी, कर्मचारी, कतिपय न्यायाधिशहरु नेकपाका नेता तथा कार्यकर्ताका अगाडि निरिह भएकोधेरैको टिप्पणी छ ।
कतिपय अवस्थामा नेकपाका नेता तथा कार्यकर्तासँग डराएर उनीहरुले गलत निर्णय वा काम गर्ने गरेको पुर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले दावी गर्नुभयो ।
नेकपाका नेता तथा कार्यकर्ताहरुको हस्तक्षेप अस्वभाविक तरिकाले धेरैतिर भएको बताउदै उहाँले देश नै कम्युनिष्ट पार्टीको मात्रै हो की जस्तो व्यवहार देखिएको टिप्पणी गर्नुभयो ।
क्षमतावान कर्मचारीहरु ओझेलमा पारिएको र हरेक ठाउँमा राजनीतिक पूर्वाग्रह राखिएकाले पनि सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको नेता सिटौलाको तर्क छ ।
नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो, “नेपालमा अहिले जत्तिको सजिलो सरकारलाई कहिल्यै थिएन, आफु शक्तिशाली, प्रतिपक्षी निरिह, सरकारलाई कुनै समस्या, अवरोध र विरोधी छैन, तर पनि सरकारले काम केही गर्न सकेको छैन, यो मुलुकको लागि दुर्भाग्य हो ।”
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुर्व महामन्त्री समेत रहनु भएका सिटौलाले काम गर्नु पर्ने सरकारले कामै नगरेको र काम गर्न दवाव दिदै बोल्नु पर्ने प्रतिपक्षले बोल्नै नसकेको टिप्पणी गर्नुभयो ।
मुलुकमा जताततैबाट निराशा मात्रै भएकाले त्यस निराशालाई भड्काएर अर्को कुनै शक्तिले फाइदा उठाउन सक्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले संविधानमा उल्लेख गरिएका विषय कार्यान्वयन गराउने अभियान चलाउन काँग्रेसको नेतृत्वलाई सुझाव दिएपनि नगरेको जानकारी दिनुभयो ।