काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेलले प्रचण्डको नेतृत्वको सरकार सफल भएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका पोखरेलले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध शुसासनको कोणबाट जस्तासुकै कदम पनि अगाडि बढाउन तयार भएको र सोहि अनुसार काम गरिरहेको स्पष्ट पार्नुभयो ।
विपक्षी दलले अहिलेको सरकारलाई विभिन्न कोणबाट असफलतातर्फ धकेल्न लागिपरेको आरोप लगाउँदै नेता पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले राम्रो र जनताका लागि काम गरिरहेको दाबी गर्नुभयो ।
अर्थतन्त्रको लागि जति काम हुनुपर्ने हो त्यति नभएको स्विकार गर्दै नेता पोखरेलले देशमा देखिएको आर्थिक संकटलाई सुधार गर्न सबै एकजुट हुन आवश्य रहेकोमा जोड दिनुभयो ।
जस्को सरकार भए पनि केहि दशक असाधारण ढंगले आर्थिक रुपान्तरण, रोजगारीको सिर्जना, गुणात्मक शिक्षा र राम्रो जिवनको प्रत्याभुति गर्ने गरि काम गर्नैपर्ने नेता पोखररेलको भनाइ छ । यहि लयमा अहिले सत्तागठबन्धनले काम गरिरहेको पनि उहाँले दाबी गर्नुभयो ।