काठमाडौं । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले तीन दिने सत्याग्रहको घोषणा गर्नुभएको हो ।
सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसीले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने जानकारी दिनुभएको छ। विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको डा. केसीको भनाइ छ ।
‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरूका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरू उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर पनि अवस्था परिवर्तन भएको छैन’, पत्रकार सम्मेलनमा केसीले भन्नुभयो, ‘त्यसैले जबाफदेही बनाउनका लागि हामीले देहायका मागसहित मङ्सिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौँ ।’
केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्नुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने र चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने माग अघि सार्नुभएको छ ।
त्यस्तै जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने, सय शय्याभन्दा बढी क्षमता भएका एका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै आफूसँग यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्न माग गर्नुभएको छ ।