काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ११औँ पटक मन्त्रीपरिषद् पुनर्गठन गर्दा सत्तारुढ दल नेकपामा फेरी विवाद र असन्तुष्टि बढेको छ ।
नेकपा स्थायी कमिटिले सरकारको पुनर्गठन गर्दा, राजनीतिक नियुक्ति गर्दा र महत्वपूर्ण निर्णयहरु गर्दा नेकपाको सचिवालयको निर्णयमा आधारमा गर्नुपर्ने निर्णय भएपनि एकलौटी गरेको भन्दै असन्तुष्टि फेरी बढेको हो ।
ओलीको एकलौटी निर्णयका कारण पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु असन्तुष्ट रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटिको निर्देशन र निर्णय विपरित कदम चालेको नेकपाका नेता युवराज ज्ञवालीले नेपाली नेटवर्कसँग बताउनुभयो ।
तत्कालिन रक्षामन्त्री इश्वर पोखरेललाई अहिले विना विभागिय मन्त्री बनाउन अर्को अनौठो र अस्वभाविक भएको उहाँले टिप्पणी गर्नुभयो ।
स्थायी सरकारको नारा दिएर बनेको सरकारले नै ११ पटकसम्म मन्त्रीहरु फेरबदल गर्नु स्थायीत्वको नारा विपरित भएको उहाँको भनाई छ ।
प्रधानमन्त्रीको मात्रै स्थायीत्वको कुरा हैन, मन्त्रीको पनि स्थायीत्व हुनुपर्छ, मन्त्रीहरु पटक पटक फेरबदल गर्दा राम्रो सन्देश दिएको छैन, नेपाली नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो ।
मन्त्रीहरु पटक पटक फेरबदल गर्नु आफैमा अस्थीरता भएको र प्रधानमन्त्री नै अस्थीरताको कारक भएको उहाँले टिप्पणी गर्नुभयो ।
मन्त्री बनाउँदा सक्षम नेताको छनौट गर्न नसक्नु, उनीहरुलाई राम्रोसँग परिचालन गर्न नसक्नु, उनीहरुबाट उत्साहजनक नतिजा निकाल्न नसक्नु पनि प्रधानमन्त्रीको कमजोरी भएको नेता ज्ञवालीले तर्क गर्नुभयो ।
मुलुकमा नेकपाको सरकार रहेकाले नेकपाले अहिले अरुलाई दोष दिन नमिल्ने र अग्नी परिक्षामा रहेकाले गम्भीर समिक्षा गर्नु पर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, जनता भोकभोकै छन, उपचार नपाएर छटपटाइरहेका छन् हामी चाहिं के गरिरहेका छौँ, जनताले हेरिरहेका छन्, ।
उहाँले नेकपाको अहिलेको प्राथमिकता र चिन्तन मनन जनताको अपेक्षा र अवस्थासँग मिल्दोजुल्दो छ की छैन भनेर जनताले मुल्यांकन गरिरहेको पनि उहाँले बताउनुभयो ।