काठमाडौं । सरकारले कात्तिक ७ देखि अनिवार्य क्लिन फिड लागु गर्न सूचित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने जनाएको छ ।
सरकारले भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ।
कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडी विदेशी च्यानलमा क्लिन फिड भए नभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको बताउनुुभयो ।