काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु भएको छ । बुटवलमा उपचाररत एकजना संक्रमितको मृत्युु भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा वुधवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभयो ।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
यसैबिच, सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको वुधवार बिहान मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुुभएको छ ।
मृतक वृद्ध कहिले संक्रमित थिए भन्ने केही खुलेको छैन । योसंगै धरानममा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै धरानमा थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, मोरङमा थप दुुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको वुधवार बिहान मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुुभयो ।
ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यसैबिच, मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको थियो ।