काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज राज्यको अकर्मण्यताको विरोधमा आज शान्तिपूर्ण कार्यक्रम गरिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘राज्य फेलियर स्टेटमा जान थाल्यो । १० चोटि महँगी बढ्यो । महँगीले जनजीविका चलाउन नसक्ने अवस्था सिर्जना भयो । आम जनतामा महँगी नियन्त्रण, सुशासन र सामाजिक न्यायको आभास हुन सकेको छैन । हाम्रो प्रदर्शन महँगी, बेथिति र भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण कार्यक्रम हो । तर यो जनप्रदर्शन वा आमसभा होइन । काठमाडौंबाहिरबाट मानिस ल्याएका छैनौं, २५ हजार युवा विद्यार्थी जम्मा हुन्छन् ।’
युवा संघले दुर्गा प्रसाईंको कार्यक्रमसँग जुधाएको नभई दुर्गा प्रसाईंले युवा संघको कार्यक्रम जुधाएको थेवेले बताउनुभयो । साथै उहाँले दुर्गा प्रसाईंले फाउन्डेसन र अभियानका नाममा दुईदुईवटा क्युआर कोड सामाजिक सञ्जालमा फिँजाएर अवैध चन्दा असुली गरेको आरोप पनि लगाउनुभयो ।
उहाँले चरित्रहीन, नैतिकहीन र अनुशासनहीन व्यक्तिको नेतृत्वबाट व्यवस्थामाथि खुलेआम आक्रमण भएको बताउँदै कानुनी शासन हुन्थ्यो भने जेल जानुपर्ने जिकिर गर्नुभयो । राज्यले यस्तो आउरे भाउरे अराजक गतिविधिलाई तुरुन्त नियन्त्रणमा लिनुपर्ने औंल्याउनुभयो ।
युवा संघको विरोध कार्यक्रम महेश बस्नेतको व्यक्तिगत एजेन्डा नभएको पनि थेवेको दाबी छ । युवा–विद्यार्थीको कार्यक्रमलाई बदनाम गरेर असफल गराउने घुसपैठ हुन सक्ने भएकाले आफूहरू चनाखो रहेको पनि थेवेले बताउनुभयो ।