काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभएको हो ।
भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गर्नुभयो ।
राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको दाबी गर्नुभयो ।
‘राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसलाई भोट दिएकोमा मतदातालाई म धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं । उहाँको सम्बन्धमा थुप्रै कुराहरु आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रपति संविधान अनुसार चल्नुपर्ने बताउनुभयो ।