काठमाडौं। विश्वभरी रहेका नेपालीहरुले एक अर्कालाई खुलेर सहयोग र साथ प्रदान गर्न गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सवैलाई आह्वान गरेका छन् ।
गैरआवासीय नेपाली दिवस (एनआरएनए) डे का अवसरमा शुभकामना व्यक्त गर्दै पदाधिकारीहरुले जस्तोसुकै बेलामा पनि एक अर्कालाई सहयोग गर्ने नेपालीको संस्कृतिलाई विश्वभरी प्रकट गर्न पनि आग्रह गरेका छन् ।
संघको अन्तर्राष्ट्रिय समितिका सचिव आर. के. शर्माले विगतमा पनि गैरआवासीय नेपालीहरुले एक अर्कालाई हातेमालो गर्ने गरेको स्मरण गर्दै अहिले कोरोना महामारीका कारण त्यसको आवश्यकता अझ बढी भएको उल्लेख गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा लेख्नु भएको छ, “बिश्वव्यापी महामारी फैलिरहदा त्यसको सामना गर्नको लागि एकअर्कासंग हातेमालो गर्न होस् वा सहयोगका लागि अग्रपंक्तिमा खटिने सामथ्र्यमा गैरआवसीय नेपालीहरु रहेका छौ ।”
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सन् २००३ को अक्टोबर ११ तारिखका दिन स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले हरेक बर्षको अक्टोबर ११ तारिखलाई स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।
अघिल्ला बर्षहरुमा नेपालमै भेला भएर विभिन्न सम्मेलनहरु गर्दै आइरहेको संघले यस पटक भने कोरोनाभाइरसको महामारीका कारण त्यस्तो कार्यक्रम गर्न नसकेको सचिव शर्माले जानकारी दिनुभयो । तर भर्चुअल माध्यम मार्फत् विभिन्न कार्यक्रमहरु भने भइरहेको उहाँले बताउनुभयो ।
विश्वभर बसोबास गर्ने नेपाली दाजुभाईरदिदीबहिनीहरूलाई एकै मालामा जोडेर बिदेशमा रहेका नेपालीहरुमा दुःख पर्दा वा स्वदेशले प्रकृतिक बिपद् खेपीरहँदा सहयोग गर्ने माध्यमको रुपमा एनआरएनए प्रभावकारी भएको पनि उहाँले स्मरण गर्नुभएको छ ।
त्यसैगरी एनआरएनए अमेरिकाका संचार संयोजक सतीश चापागाईले पनि परदेशमा रहेपनि घरदेशप्रति माया र कर्तव्य दर्साउन अनि घरदेशबाट केही अधिकार माग्न स्थापना भएको संस्थाले प्रवासका नेपालीहरुको पीडामा मल्हम लगाईरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले गैरआवासीय नेपाली संघ आगामी दिनमा अझै सहयोगी बन्ने विश्वास व्यक्त गर्दै यो अभियानमा सहभागी हुन पनि सबैसंग अनुरोध गर्नुभएको छ ।
एनआरएन दिवसका अवसरमा विश्वभरका धेरै पदाधिकारी तथा सदस्यहरुले पनि एक अर्काप्रति सञ्चार माध्यम मार्फत् शुभकामना आदान प्रदान गरेका छन् ।