काठमाडौं। इजरायल र प्यालेष्टाइनी विद्रोही समुह हमासविच वार्ता सुरु भएको छ। गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न इजरायल र हमासले हाल दुईथरी प्रस्तावमा छलफल सुरु गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।
इजरायलकाअनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह(हमास)सँग २४० भन्दाबढी इजरायली बन्धक छन्।पहिलो प्रस्तावअनुसार हमासले इजरायली महिला र बालबालिकाका साथै अमेरिकीलगायत विदेशीसहित १० देखि २० जना नागरिक बन्धकलाई रिहा गर्नुपर्ने छ।
यसको बदलामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा गरिरहेको आक्रमणलाई अस्थायी रूपमा रोक्नुपर्ने छ।पहिलो प्रस्तावमा सहमति भए लगभग १०० भन्दा बढी नागरिकको रिहाइ हुनेछ। यद्यपि हमासले गाजामा रहेका कुनै पनि इजरायली सैनिकलाई रिहा गर्न अस्वीकार गरेको इजरायलको आरोप छ।
हमासको राजनीतिक कार्यालय रहेको कतारले वरिष्ठ अमेरिकी अधिकारीसँग यी वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।यस बाहेक,अमेरिकी अधिकारीले इजरायलले गाजामा बन्धकको रिहाइका लागि आफ्नो आक्रमण रोक्न प्रस्ताव गरेको प्रस्तावलाई समर्थन गरेका छन्।