काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा १२ हजार चार सय २७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ । आज १५ सय ५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७५ हजार आठ सय चारजना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ७०.३ प्रतिशत रहेको बताउनुभयो ।
हाल सक्रिय संक्रमित भने ३१ हजार तीन सय १५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ ।