काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘हिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु’, भट्टराईले फेसबुकमार्फत जानकारी दिएका छन्।
मन्त्री भट्टराईले केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौँ बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परि आएमा सामना गर्नुबाहेक के नै पो बिकल्प छ र?'