काठमाडौं । नेपाली कांग्रेसको आइतबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो ।
प्रसाईँको निधन शुक्रबार भएता पनि आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयोे । आगामी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको उहाँको भनाइ छ ।
अर्को सूचना जारी भएपछि बैठक बस्नेगरी आइतबारको बैठक स्थगित गरिएको प्रवक्ता शर्माले बताउनुभयो । यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जननरसिंह केसी र गगन थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।
महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित कांग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगतयका विषयमा छलफल गर्र्न कांग्रेसले बैठक बोलाएको थियो ।