काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरुको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले संविधानसम्मत ढंगले सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
‘विभिन्न कोणबाट यो विधेयशबारे प्रश्नहरु उठेका छन् । यो विधेयक संविधानको भावना अनुरुप बन्नुपर्छ भन्ने कुरा पनि उठेको छ । र, यो विधेयकमा सरोकारवालाहरुको धेरै चिन्ता, चासो उठेका छन्’ लेखकले भन्नुभयो, ‘यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरुको सबै चिन्ता र चासोलाई समेटेर सहमतीका साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्छ । ’
प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो। सरकारले सरोकारवालाहरुसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतिकै आधारमा अघि बढाउन उपयुक्त हुने उहाँको तर्क थियो ।
‘सरकारले यो विधेयकलाई पर्याप्त रुपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरुको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंग्याएको छ । विधेयक प्रस्तुत भएको छ’ उहाँले भने, ‘यो विधेयकको आवश्यक्ता पनि धेरै ज्यादा भएको हुनाले सरोकारवाला सबैको विचारलाई समेटेर र आम नागरिकका पनि धारणाहरु बुझेर सदनले नै यसलाई अगाडि बढाउन सक्ने भएकाले यो सदनबाटै अगाडि बढाएर चाडो यसलाई किनारामा पु¥याउन उचित हुन्छ भन्ने मलाई लाग्छ ।’
लेखकले सो विधेयक पारित गराउन पनि ढिलाई गर्न नहुने बताउनुभयो ।