काठमाडौं । मान्छेका रुचि र लगाव फरक फरक हुन्छन । त्यही आधारमा सन्तुष्टि पनि प्राप्त हुन्छ । कतिपय व्यक्तिहरू मोजमस्ती, रङ्ग रमाइलो गर्न पाउँदा सन्तुष्ट हुन्छन भने कतिपय व्यक्ति सेवा गरेर सन्तुष्ट हुन्छन् ।
पेशागत सन्तुष्टिको हिसाबले संसारमै सबैभन्दा सन्तुष्टि स्वास्थ्य सेवाबाट पाइन्छ । त्यसमा पनि चिकित्सकले धेरै मानिसलाई नयाँ जीवन दिने कार्यको नेतृत्व गरेकोले उसलाई आफैलाई पनि बढी सन्तुष्टि मिल्ने गरेको अनुभव धेरैको छ । त्यसैगरी बिरामीले उनीहरूप्रति देखाएको कृतज्ञताको भावनाले पनि थप आत्मसन्तोष प्राप्त हुन्छ । त्यही अधिक सन्तोषको काम गर्दै आउनु भएका डा। निरन्जन पन्त अहिले अर्को सन्तुष्टिको काम तर्फ पनि लाग्नु भएको छ । उहाँले चिकित्सकीय सेवासँगै संगीत साधनालाई पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिन थाल्नु भएको छ ।
“हुन त गीत संगीत प्रतिको रुचि र लगाव बाल्यकाल देखि नै थियो, तर अध्ययनलाई उच्च प्राथमिकता दिनु परेकाले त्यतिबेला यसलाई केन्द्रमा राख्न सकिन, त्यसपछि उच्च शिक्षाको सिलसिलामा पनि त्यतै बढी केन्द्रित हुनु परेकाले यो मेरो रुचिको विषय ओझेलमा परेको थियो,” विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो । उहाँले छात्रवृत्तिमा त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस र एमडी गर्नु भएको हो ।
डा पन्तले अबदेखि भने चिकित्सकीय पेशासँगै यो गीतसङ्गीतको साधनालाई पनि सँगसँगै लैजाने अठोट गर्नु भएको छ । बिरामीको सेवा गर्ने व्यस्त दैनिकीका बीचमा पनि उहाँले निश्चित समय छुट्याएर संगीत साधनमा लाग्ने गर्नु भएको छ । यही साधनाको प्रतिफल स्वरुप उहाँले हालै एउटा सुमधुर सांगीतिक कोसेली “मुस्कानका शब्द” सार्वजनिक गर्नु भएको छ । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको उहाँले आकर्षक भिडियो पनि बनाउनु भएको छ ।
आफ्नै नामको युट्युब च्यालनमा केही दिन अगाडि राख्नु भएको भिडियोमा अहिलेकी अति व्यस्त नृत्यांगना सृष्टि महर्जनको कलात्मक नृत्य रहेको छ । “मुस्कानका शब्द छरिदेउ, मौनतामा माया गरिदेउ” जस्ता मार्मिक र प्रेमिल शब्दलाई उहाँले सुमधुर स्वर र संगीत दिएपछि मन छुने र सुनिरहुँजस्तो गीत बनेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखामा कार्यरत डा पन्तको दैनिक जिम्मेवारी देशभरका सरकारी अस्पतालहरुमा उपचारको पद्धति व्यवस्थित गर्ने, अस्पतालहरुको अनुगमन गर्ने, चिकित्सकहरुलाई तालिम दिने लगायत रहेको छ । त्यसमा कुनै असर नपर्नेगरी उहाँले फुर्सदको समयमा संगीत साधना गर्दै आउनु भएको छ ।
उहाँले यसअघि भारतको इलाहावाद विश्वविद्यालयबाट दुई वर्षे औपचारिक संगीत शिक्षा पनि लिनु भएको छ । “त्यो त औपचारिकता हो, त्योभन्दा बढी त साधना हो, त्यो लामो समयदेखि निरन्तर गरिरहेको थिएँ, त्यसैको नतिजा स्वरुप अहिले पहिलो गीत सार्वजनिक गरेको हुँ” डा पन्तले भन्नुभयो । संगीत शिक्षा र साधनाका लागि उहाँलाई गुरुको रुपमा बरिष्ठ कलाकार तिलक सिंह पेलाले मार्गदर्शन गरिरहनु भएको छ । डा पन्तले पेलासँग शास्त्रीय सङ्गीतमा साधना गरिरहनु भएको छ भने आधुनिक गीतमा उहाँको बढी रुचि छ ।
उहाँले पहिलो गीतबाटै पनि छोटो समयमा धेरै राम्रो प्रतिक्रिया पाएपछि उत्साहित भएर अर्को गीत पनि सार्वजनिक गर्न लाग्नु भएको छ । उहाँको अर्को गीत पनि प्रेम सम्वन्धी नै छ ।
“मोहमा बाँध्यौ तिमीले” बोलको गीत पनि दशैँपछि सार्वजनिक गर्ने उहाँको तयारी छ । उहाँले बिरामीलाई सेवा गर्दा पाउने सन्तुष्टि जस्तै गीत संगितबाट पनि छुट्टै प्रकारको सन्तुष्टि मिल्ने गरेको अनुभव सुनाउनु भयो । “गीत सङ्गीतको र यसको साधनाको पनि आफ्नै प्रकारको मजा छ, आफ्नै संसार छ, त्यसैले मैले चिकित्सकीय पेशासँगै गीतसङ्गीतलाई पनि निरन्तर लैजाने अठोट गरेको छु,” उहाँले भन्नुभयो ।
गोरखाको गण्डकी गाउँपालिका वडा नं। २, सिम्लेमा जन्मिनु भएका डा। पन्तले सुर्खेत, दैलेख र गुल्मीका धेरै दुर्गमबस्तीका नागरिकलाई सेवा गर्नु भएको छ । त्यस मध्ये उहाँले चार बर्ष त दैलेखमा मात्रै बिताउनु भएको छ । उहाँ ती दुर्गम बस्तीहरूमा बाध्यताले हैन, सेवा गर्ने हुटहुटीले जानु भएको हो । डा पन्तले एक हजार भन्दा बढीको त आकस्मिक शल्यक्रिया मात्रै गर्नु भएको छ ।
उहाँलाई दुर्गम बस्तीहरूमा सेवा गर्ने धोको अझै पुरा भएको छैन । उहाँले अहिले स्वास्थ्य नीति र जेष्ट नागरिकको उपचार सम्बन्धी अध्ययन गर्न लागेको र त्यो पुरा भएपछि फेरि दुर्गम गाउँहरूमा सेवा गर्ने योजना सुनाउनु भयो ।