काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताउनुभएको छ। चीनबाट स्वदेश फर्कने क्रममा शनिबार(आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले दुवै भ्रमण सफल भएको बताउनुभएको हो।
करिब ४ वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले बेला आफ्नो भ्रमण हुनु महत्त्वपूर्ण रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ।’
उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको पनि प्रचण्डको भनाइ छ । उहाँले अगाडि भन्नुभयो, ‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्ग प्रशस्त भएको छ, र अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चीनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ ।’
त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम भएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको पनि उहाँको भनाइ छ ।
‘दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो । उहाँले असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा भएको स्वागत समारोहमा सहभागी भएका दाहालले राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग समेत भेट गर्नुभएको थियो।
न्युयोर्कको ५ दिने भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज ५ गते चीन प्रस्थान गर्नुभएको थियो। । १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुग्नुभएको थियो । प्रधानमन्त्री दाहालले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो ।
त्यस्तै बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्ड बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी हुनुभयो । प्रधानमन्त्री प्रचण्ड छोङछिङ र मानसरोवर हुँदै छेन्दु पुग्नुभएको हो ।