काठमाडौं । पछिल्लोपटक नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्युु भएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत एकजना संक्रमितको गएराति मृत्यु भएको छ ।
असोज १२ गते पिसिआर परीक्षण ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिनुुभयो ।
त्यस्तै, विराटनगरमा कोरोना संक्रमित एक वृद्ध पुरुषको आज बिहान होम आइसोलेसनमै मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहान मृत्यु भएको महानगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुुभयो । १९ गते रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो ।
त्यसैगरी, कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताउनुभयो ।
उता, पोखरामा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ निवासी ८३ वर्षीय पुरुष हुन् ।
गत असोज १३ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।