काठमाडौं । अष्ट्रेलियामा आगामी सेप्टेम्बर २३ मा हुने गजल मुशायरा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१४ देखि अष्ट्रेलियाको सिड्नीबाट शुरु भएको गजल मुशायरा कार्यक्रमले आगामी सेप्टेम्बर २३ मा आफ्नो पन्ध्रौं संस्करण आयोजना गरेको छ ।
छोटो समयमै नेपाली गजल साहित्यमा एउटा अभियानको रूपमा परिचित भएको गजल मुशायराले सिड्नीमा एउटै मञ्चमा ३३ जना स्रष्टालाई राखेर कार्यक्रम गर्ने तयारी गरेको छ । गजल इतिहासमा एउटै मञ्चमा ३३ जना स्रष्टालाई राखेर गरिएको यो पहिलो कार्यक्रम भएको आयोजकको दाबी छ । कार्यक्रममा एक जनाको गजल गायन तथा एक जनाको गजल नृत्य पनि रहेको छ ।
आदर्श खत्री, जितेन्द्र मल्ल र केशव शर्माको संयुक्त संयोजनमा हुने कार्यक्रमलाई सुरेन्द्र दवाडी, अनिसा खड्का र छत्र बहादुर धामीले सञ्चालन गर्नेछन् ।
यस्तै कार्यक्रममा गजलकार कमल संघर्षको ‘खुडी’ र लोकेन्द्र बन्जाराको ‘पलक’को अष्ट्रेलियास्तरीय लोकार्पण पनि हुने भएको छ ।
मोती जयन्तीको अवसर पारेर मनाउँदै आएको गजल मुशायरा कार्यक्रम गजल वाचन, भावपूर्ण गायन र आकर्षक नृत्यको जीवन्त मिश्रण हो । डायस्पोराबाट नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरु भएको गजल मुशायरा नेपाली गजल साहित्यको विश्वमा एउटा महत्त्वपूर्ण अभियानको रुपमा विकास भएको छ । यसले लेखकहरूलाई गजल सिर्जना गर्न प्रोत्साहित गर्न, गजल सुन्ने र वाचन गर्नको लागि माया जगाउने, नेपाली गजलहरूको पहुँच विस्तार गर्न र नेपाली गजलको विकासमा समर्पित अन्य संस्था र व्यक्तिहरूसँग सहकार्य गरेर गजल लेखकहरूलाई सहयोग प्रदान गर्ने प्रयास गर्दछ।
नेपाली गजल लेखन र वाचनको एउटा साझा र लोकप्रिय थलोको रूपमा गजल प्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृङ्खला यहाँसम्म आइपुग्दा सिड्नीमा छ वटा र सिड्नी बाहिर ब्रिसबेनमा सन २०१७ र २०२२ मा र एडिलेडमा सन २०१८ मा मलेसियामा सन २०१८ मा र नुवाकोट नेपालमा २०१८, अल्वेरीमा २०१९ मा एक/एक वटा र दुईवटा अनलाइन संस्करण गरी चौधवटा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।