काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताउनुभयो ।
नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनः स्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो ।
२०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसद्को सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो ।
शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।