काठमाडौं। सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। सीआईबीले आज पत्रकार सम्मेलनपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गरेको हो।
प्रतिवेदनमा सीआईबीले ’ब्रेक सु’ लगायतका माध्यमबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको छ।विभिन्न माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको सीआईबीले दाबी गरेको छ।
यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ।उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ। यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन्। ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ। १८ जना फरार छन्, फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।
सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जनाएको छ। गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले त्रि.वि. भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो।
बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो। ब्रेक प्याड, सेभर, स्मार्ट वाच लगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको अनुसन्धानमा देखिएको छ। ६०.७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो। यो अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी सिआइबीले राय दिएको छ।