काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताउनुभएको छ।
अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा शनिबार उहाँले भन्नुभयो, ‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्, कसैलाई लागेको होला केही काम गरेका छैनन्, तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरू मन्त्रीको कुनै रोल हुँदैन ।’
उहाँले अगाडि भन्नुभयो, ‘मन्त्रिपरिषद्मा प्रधानमन्त्री र मुख्यसचिव बसेर गर्ने निर्णय नै अन्तिम हुन्छ । यस कारण अब कांग्रेसको सरकार हुन जरुरी छ अनि मात्रै अगाडि बढ्न सकिन्छ ।’
उहाँले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कूटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दाबी गर्नुभयो । नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्नुपर्ने धारणा राख्नुभयो ।
‘अहिले भएको १६५ निर्वाचन क्षेत्रलाई बढाएर पहिला संविधानसभाको जति २४० प्रत्यक्ष बनाउन सकिन्छ, यसो हुँदा ७५ जति सिट बढ्छ, त्यहीँभित्र नै महिला र दलितको आरक्षण राख्न सकिन्छ’, नेता कोइरालाले भन्नुभयो, ‘आदिवासी जनजाति, थारु, अल्पसंख्यक लगायतको प्रतिनिधित्व राष्ट्रियसभा र प्रतिनिधि सभामा पनि गराउन सकिन्छ ।’
उहाँले यसका लागि कांग्रेस र एमाले तयार हुने तर माओवादी र अन्य केही दल तत्काल तयार नहुने भएकाले छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताउनुभयो ।
स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा माओवादीसँग गठबन्धन गर्नु कांग्रेसको भुल भएको कोइरालाले बताउनुभयो । ‘माओवादीसँग गठबन्धन गर्दा कांग्रेस कमजोर भएको निष्कर्ष देशभरका नेता कार्यकर्ताको छ, यसमा असहमत हुने कुरा छैन’, उनले भन्नुभयो, ‘पार्टीले अव यस्तो गल्ती गर्न हुँदैन । एक्लै चुनाव लड्छु भनेर लागौं हामी जित्छौं पनि ।’
पछिल्लो समयमा लोकरिझ्याइँको राजनीति हाबी हुन थालेको नेता कोइरालाको विश्लेषण छ ।