काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबार(आज)को बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरूलाई बचाउन नलागेको बताउनुभएको छ ।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ का क्रममा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले विभिन्न पार्टीका नेताहरूलाई ‘साइज’मा राख्ने काम भइरहेको आरोप लगाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘नक्कली भुटानी शरणार्थीको फाइल खोलेर कांग्रेसलाई साइजमा राख्नुभयो । ललिता निवासमार्फत एकीकृत समाजवादीलाई साइजमा राख्नुभयो । गौर हत्याकाण्डमार्फत जसपालाई । अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ । आफ्नो कुर्सी बचाउन दाउपेच गरेर कामले जनताको मन जितेर कुर्सीको आयु लामो बनाउन सकिँदैनथ्यो?’ साहको प्रश्न थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुरुदेखि नै सामाजिक न्याय, सुशासन सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको पनि प्रचण्डको भनाइ थियो । ‘सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइन । बरु देश र जनतामा राजनीतिक प्रणाली प्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ,’ उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनामा राज्यले दबाबरहित ढंगले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो ।’
प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताउनुभयो । ‘वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ । कसैलाई पनि बचाउने या कसैलाई पनि अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम गरिएको छैन । जसरी कतिपय सन्दर्भमा मिडियामा आउने गरेको भन्दा ठिक विपरीत मैले दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासन लाई निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने कुरा सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु ।’
सबै भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि सरकार प्रतिबद्ध छ । भ्रष्टाचारको मामिलामा यो आफ्नो, यो पराइ भनेर सरकारले कसैलाई विभेद गरेको छैन र गर्ने पनि छैन । कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसाथ गरेको छ र गरिरहने छु,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने पनि आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रिय मुद्दामा विचार फरक भएका दलहरू भएपनि एकताबद्ध भएर जानुपर्ने धारणा राख्नुभएको थियो ।