काठमाडौं । नेकपा माओवादीका नेता माधव सापकोटाले प्रचण्ड सरकारले संकटपूर्ण अवस्थाबाट अर्थतन्त्र जोगाएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सापकोटाले तुलनात्मक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिनुभन्दा अगाडि र अहिलेको अर्थतन्त्रको अवस्थामा निकै फरक आएको दाबी गर्नुभयो ।
धेरै दलहरु आवद्ध भएकाले गठबन्धनभित्र हुने छलफल, बहस र विवादलाई स्वभाविक रुपमा लिनुपर्ने भएकाले गठबन्धनमा कुनै पनि असमझदारी नआएको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा जसपा का अध्यक्ष उपेन्द्र यादव काठमाडौंमै भएर पनि सहभागिता नभएपछि प्रचण्ड र यादवविच दुरि आएको भन्ने खबरहरु सार्वजनिक भइरहेकोेबेला नेता सापकोटाले केहि मतभेद देखिए पनि सत्तागठबन्धन टुट्ने खालको कुनै पनि समस्या नभएको नेता बताउनुभयो । अहिले सरकारले निरन्तर काम गरिरहेको र यसैगरेर अगाडि बढ्नेमा कुनै शंका नरहेको पनि नेता सापकोटाको भनाइ छ ।
यस्तै अर्को प्रसंगमा नेता सापकोटाले सांसद विकाश कोषको रकम मात्रै नभएर राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय राजमार्गबाहेक सबै विकाश निर्माणका काम प्रदेश सरकारलाई दिनुपर्ने बताउँदै यसो नगर्दासम्म संघीयता सुदृढ नहुने स्पष्ट पार्नुभयो ।
सांसद विकास कोषका नाममा सरकारले यसअघि खारेज भएको कार्यक्रमलाई फेरि निरन्तरता दिएर बजेट छुट्याएपछि त्यसका विरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले सांसद विकास कोषलाई फेरि व्युताएकोमा सुरुदेखि नै विवाद र विरोध हुदै आएको छ । अहिले पनि कतिले विरोध गरेका छन् भने कतिले यसको स्वागत गरेका छन् ।