काठमाडौं । काठमाडौको तारकेश्वर नगरपालिकामा नेपालमै नमुना हुनेगरी जेष्ठ नागरिक विद्यालय स्थापना गरिने भएको छ । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले आफूले स्थापना गर्न लागेको विद्यालय नेपालकै नमूना हुने भएकाले केन्द्र सरकारले एक करोड रुपैया बजेट दिएको बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले जसरी बालबालिकाहरु विद्यालय जान्छन, त्यसैगरी यस विद्यालयमा पनि बृद्ध बुवा आमाहरु आउनुहुन्छ भन्ने हाम्रो अवधारणा हो । उहाँका अनुसार दिन विताउन गाह्रो भएका बृद्धबृद्धाहरुलाई ल्याउने लैजाने व्यवस्था गरिने, दिनभरी पढाउने, सिकाउने, रमाईलो गराउने गतिविधिहरु गराउने योजना रहेको छ ।
जेष्ठ नागरिक विद्यालयमा १०० जनासम्मलाई पुग्ने कोठाहरु बनाईने, हल बनाईने, भजन कृतनका सामग्रीहरु राखिने, ध्यान तथा योग गराईने, कथा बाचन गराउने, चिया खाजाको पनि व्यवस्था गरिने मेयर महर्जनले जानकारी दिनुभयो ।
उहाँले तारकेश्वर नगरपालिकाको वडा नं. १ मा पर्ने ढकाल चौरमा खुल्ला चिडियाखाना बनाउनका लागि ४० लाख रुपैया छुट्याइएको पनि बताउनु भयो । त्यहीँ असुरक्षित नहुने जनावर तथा चराचुरुङगीहरुलाई गोठ, गुण र तारबार बनाईदिएर हेर्न मिल्ने बनाउन लागिएको उहाँको भनाई छ ।
मेयर महर्जनले नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि धमाधम काम भइरहेको, सेवा प्रवाह सहज र प्रभावकारी बनाइएको, राजश्य र बजेट बृद्धि गरिएको, विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा व्यापक सुधार भइरहेको दावी पनि गर्नुभयो ।