काठमाडौं । झापाको हल्दीबारी गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कामहरु गरिरहेको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने हल्दीबारी नै नेपालकै पहिलो गाउँपालिका भएको अध्यक्ष रविन्द्र लिङ्देनले दावी गर्नुभयो । त्यसैगरी सबै विद्यालयमा कम्युटर ल्यावको व्यवस्था, सवै वडामा नमुना बाल क्लास, सिसि क्यामेरा मार्फत विद्यालयको अनुगमन गर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा अध्यक्ष लिङ्देनले वडा अध्यक्षलाई नै विद्यालयको अध्यक्ष बनाउने अभ्यास भने गतल भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “वहुमतको बलमा मेरो अघिल्लो कार्यकालमा हामीले वडा अध्यक्षलाई नै विद्यालयको अध्यक्ष बनाउने निर्णय ग¥यौँ, तर त्यसले शिक्षामा सुधार आएन, अहिले हामीले त्यो निर्णय खारेज गरिसकेका छौँ ।”
काठमाडौ महानगरपालिकाले वडा अध्यक्षलाई नै मातहतका सबै सार्वजनिक विद्यालयको अध्यक्ष बनाएर गल्ती गरेको उहाँको भनाई थियो । अध्यक्ष लिङ्देनले मातहतका विद्यालयको जिम्मेवारी वडाध्यक्षमा यसैपनि हुने भएकाले फेरि विद्यालय अध्यक्ष बनाएर सिमित गर्न नहुने तर्क गर्दै उहाँले विद्यालयको औपचारिक जिम्मेवारी शिक्षासेवी तथा समाजसेवीहरुलाई नै दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले हल्दीबारीका सार्वजनिक विद्यालयहरुमा कक्षा ८ देखि १० सम्म सिप सिकाउने पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो । विद्यार्थीहरुले एसइइको प्रमाणपत्रसँगै सिपको प्रमाणपत्र पनि लिने व्यवस्था गर्न लागिएको र त्यसका लागि ठूला भनिएका सिप भन्दा पनि सहजै सिक्न र सहजै काम पाउन सकिने सिपहरु सिकाइने उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष लिङ्देनका अनुसार हल्दीबारीमा घरभेट कार्यक्रम मार्फत घरघरमै स्वास्थ्य परिक्षणको व्यवस्था, हरेक परिवारलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण लगायतका कामहरु पनि भइरहेको छ ।