काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना हुनुभएको थियो ।
अहिले भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उहाँलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो ।
दुई दिन पहिले अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिनुभएको थियो ।
“समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ,” उहाँले लेख्नुभएको छ, “इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।”