काठमाडौं । संघीय र प्रदेश सरकारले कानुन नबनाईदिँदा स्थानीय सरकारलाई काम गर्न गाह्रो भएको पाइएको छ । स्थानीय सरकारका प्रतिनिधिहरुले आफ्नो तहबाट बनाउनु पर्ने कानुन बनाएर काम गरिरहेको, तर संघ र प्रदेशले नबनाउनु पर्ने कानुन बनाउँदा काम गर्न बाटो नखुलेको गुनासो गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय तहका लागि आवश्यक कानुन तत्काल बनाउन संघ र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, साझा अधिकार सम्वन्धी कानुनहरु मध्ये कुनै प्रदेश सरकारले र कुनै संघीय सरकारले बनाउनु पर्ने जिम्मेवारी छ, तर उनीहरुले कानुन नबनाईदिँदा हामीलाई काम गर्न गाह्रो भएको छ ।
नेपाल नगरपालिका संघकी केन्द्रीय सहकोषाध्यक्ष समेत रहनु भएकी लामाले तीन तहको सरकारका बीचमा पर्याप्त समन्वय नभएको पनि उल्लेख गर्नुभयो ।
केन्द्रीय र प्रदेश सरकाले स्थानीय सरकारप्रति अझै पनि उदारता र विश्वास देखाउन नसकेको उहाँको अनुभव छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई सफा र हरित सहरको रुपमा विकास गर्न आफू केन्द्रीत रहेको मेयर लामाले जानकारी दिनुभयो ।
उहाँले फोहोर व्यवस्थापनका लागि फोहोरलाई सुरुदेखि नै छुट्याउने विधिबाट व्यवस्थापन गरिएको बताउनु भयो ।