काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लोपटक थप ५ जनाको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।
इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै कोरोना संक्रमणबाट सिरहाका एक जनाको विराटनगरमा मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु भएको हो ।
रिपोर्ट पोजेटिभ आए पनि उनलाई विराट अस्पतालको आइसोलेसनमा पठाइएको थियो । आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै उनको हिजो मृत्यु भएको आइसोलेसन इन्चार्ज सुनील देवले जानकारी दिनुभएको छ ।
मध्यपुरथिमी–१ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा आज बिहान मृत्यु भएको परिवारले जनाएको छ ।
झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताउनुभयो ।
त्यसैगरी चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ती पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।