काठमाडौँ – ‘बाबा तपाईँले बनाउने घर कति ठूला–ठूला छन्, त्यहाँ हाम्रो घरमा जस्तै पानी चुहिँदैन होला है’, छोरीले यसरी प्रश्न गरिरहँदा राजकुमार श्रेष्ठ छानाबाट चुहिँदै गरेको पानीबाट घरभित्रका सामानहरु जोगाउन व्यस्त थिए ।
‘किन नचुहिँनु छोरी त्यो घर त पूरा बनिसकेकै छैन, अहिले त त्यहाँ कति धेरै पानी भित्र पसिसकेको होला’, छोरीको प्रश्नले अवाक बनेका राजकुमार मुस्कुराउँदै जवाफ दिन्छन् ।
गत साता लगातार चार दिनसम्म झरी परेपछि राजकुमार र उनकी श्रीमतीले छानोबाट चुहिँने पानीको व्यवस्थापनमै समय बिताए । बिस्तारै बादल फाटेर आकाश खुल्दै गयो तर छानो चुहिँनेबारे छोरीको प्रश्नले राजकुमारको मनको आकाश भने खुल्न सकेको छैन ।
सिन्धुपाल्चोक घर भएका ५१ वर्षीय राजकुमार विगत केही वर्षदेखि काठमाडौँमा मजदुरी गर्छन् । घर निर्माणमा ‘हेल्पर’को काम गर्ने उनी लकडाउनपछि केही दिनअघि मात्रै सिन्धुपाल्चोकबाट काठमाडौँ फर्केका हुन् ।
दिनको ठिक २ बजेको हुँदो हो, चर्को घाममा धुलोले पोतिएको शरीर लिएर नयाँ बानेश्वरको हाईवे छेउमा राजकुमार इट्टा बोक्ने र फुटाउने काम गरिरहेका थिए।
हिजोसम्म दिनभरी मजदुरी गरेर कमाएको रकमले परिवारको गर्जाे टार्दै आएका राजकुमारको जिन्दगीसँग खासै गुनासो थिएन । तर हुर्कदै गरेकी छोरीले छानो चुहिएकोबारे सोधेको प्रश्नले उनको मनमा हलचल मच्याएको छ ।
अब राजकुमारलाई आफ्नै कमाईले नचुहिँने छानो भएको घर निर्माण गरेर छोरीलाई खुशी दिने मन छ तर कसरी सपना पूरा गर्ने उनी सोचमग्न छन् ।
‘अब त मेरो यही इच्छा छ कि मेरा छोराछोरीलाई जति ठूलो पानी आए पनि नचुहिने घरमा राख्न सकियोस्’, निधारबाट पसिनाको धारा पुछ्दै उनले भने, ‘मलाई काम गर्दा गर्मी भएको थाहै हुँदैन ।’
हातमा बसेका ठेलाका फोकाले राजकुमारलाई खाना खाँदा पनि कठिन हुन्छ । ‘तातो भात खान सक्दिनँ पोलेर हैरान पार्छ, यसरी काम गर्दा महिनाको २५ हजार जति आम्दानी हुन्छ’, उनले भने, खै यो कमाइले छानो फेर्न कसरी सकिएला ?’
काठमडौँका हरेक गल्लीगल्लीमा अहिले नयाँ नयाँ महल बनिरहेका छन् । तीनै महल बनाउन दिनरात खटिएका अधिकांश कामदारको भने बस्ने बलियो घर छैन । उनीहरु झुपडीमै दिन गुजारिरहेका छन्।
राजकुमारको गाउँमा ऐलानी २ कट्ठा जग्गा छ तर त्यहाँको उत्पादनले १ महिना पनि खान पुग्दैन । उनको परिवार पाल्ने बाटो नै यहि मजदुरी हो ।
‘नियमित काम पाए भने पाँच जनाको परिवारलाई साँझबिहानको छाक टार्न जसोतसो पुर्याउँछु, काम नपाएको दिन त बिरामी भए पनि सिटामोल किन्न गाह्रो हुन्छ’, उनले दुःख सुनाए ।
गरिबको छोरा भएर जन्मिएपछि रहरले के गर्नु ?
‘बुवा बिरामी हुनुहुन्छ काम गर्न सक्नुहुन्नँ, आमाले बुवाको हेरचाह गर्नुहुन्छ, भाइबहिनी साना छन् । मैले यताबाट पैसा पठाउन सकेन भने घरमा खाना पाक्दैनँ’ सिंहदरबार अगाडि इट्टा बोक्ने काम गरिरहेका २२ वर्षका सुनिल पासवानले दुःख सुनाए ।
सर्लाही घर भएका उनी पछिल्ला चार वर्ष यता काठमाडौँमा मजदुरी गरिरहेका छन् । ‘महिनाको १५ देखि २० हजार कमाई हुन्छ, त्यही पैसाले आफ्नोसहित परिवारको खर्च धान्दै आएको छु’, उनले भने ।
सुनिलको पनि सर्लाहीमा खपराको सानो झुपडी छ । काठमाडौँमा साथीहरुसँग मिलेर बहालमा बस्छन् । बुवा–आमा र पाँच भाइबहिनीको खर्च उनले मुस्किलले धानिरहेका छन्। उनले भने, ‘पढ्ने मन त थियो नि तर गरिबको छोरो भएर जन्मेपछि मन मात्रै भएर कहाँ हुन्छ र ?’
‘झुपडीमै भए पनि खुशी छौं’
मनबहादुर बोगटी कालिकोटका हुन् । उनी ३६ वर्षका भए । ‘आर्थिक अवस्था कमजोर छ, गाउँमै खेतीपाती गर्न जग्गा छैन, राम्रो काम गर्न पढाई छैन, कस्ले दिन्छ म जस्तो गरिबलाई काम?’ उनको प्रश्न थियो ।
मनबहादुरलाई विदेश गएर पैसा कमाएर परिवारलाई सुख दिन मन छ तर विदेश जानको लागि पैसा नभएर उनी अहिले काठमाडौँका विभिन्न स्थानमा बनिरहेका घरहरुमा ‘हेल्पर’को काम गर्छन् ।
उनी भन्छन्, ‘ठूल्ठूला महल बनाउने काम गरिन्छ तर शायद यो जुनीमा पक्की घरमा बस्ने कुरा त मेरो भाग्यमा छैन होला ।’ ‘हाम्रो त ठूला महल बनाउने काम मात्रै हो बस्ने त सपनामा पनि सोच्न सकिँदैनँ’ ठडिँदै गरेको महल हेर्दै उनले भने ।
सामान्य वर्षा हुँदा समेत मनबहादुरको मन गाउँकै झुपडीमा पुग्छ । ‘मेरो झुपडीमा पानी पस्यो होला, के गरिरहेका होलान् घरमा भन्ने चिन्ताले सताउँछ ’, उनले भने, ‘ झुपडीमै भए पनि कमाएर परिवारलाई पूरा पेट खुवाउन सकियो भने खुशी नै मिल्थ्यो ।’
‘ठूला महलमा बस्ने सपना पनि देख्दिनँ’
कीर्तिपुरको भत्केपाटी नजिकै राजु विश्वकर्मा घर बनाउने काम गर्छन् । ४५ वर्षका राजु भन्छन् ‘ठूलाठूला महल बनाउँछौँ पछि त्यो महलमा हेर्न ठाडो गर्नुपर्छ हामीले बनाएको त्यो महल अहिले भित्र कस्तो छ हेर्न पाउँदैनौं', भाग्य झुपडी हो काम महलमा हाम्रो वास्तविकता यहि हो ।’
‘शायद यो जुनीमा पूरा नहुने भएर होला आफूले बनाएका जस्तै महलमा बस्ने रहर पनि लाग्न छोड्यो’, राजुले सुनाए ।
‘कामगर्न लाज मानेर पेट भरिँदैन ’
घरको दुःख देखेर दुःख गरेर थोरै भए पनि आम्दानी गर्छु भनेर गोरखाबाट काठमाडौँ आएर शान्ति थामी डोकोमा बालुवा बोक्ने काम गर्छिन् ।
बुधबार दिउँसो २३ वर्षीया शान्तिको निधारभरी पसिना चुहिँदै थियो तर उनी निरन्तर डोकोमा बालुवा बोकिरहेकी थिइन् । ‘पैसा कमाउनै पर्छ के गर्नु काम सानोठूलो भनेर लाज मानेर पेट भरिँदैनँ’, उनले भनिन् ।
‘घरमा पैसा पठाउँदा बा–आमा खुशी हुनुहुन्छ, आनन्द मिल्छ’
दाङकी बसुन्धरा चौधरीको भोगाइ पनि उस्तै छ । २० वर्षीया बसुन्धरा काठमाडौँको थापाथली नजिकै बनिरहेको एउटा ठूलो महलमा इट्टा बोक्ने काम गर्छिन् ।
उनले काम गरेबापत महिनामा २० हजार पाउँछिन् । त्यो पैसा उनले घरमा पठाउँछिन् ‘घरमा आफूले पैसा पठाउँदा बा–आमा खुशी हुनुहुन्छ त्यो बेला मलाई असाध्यै आनन्द मिल्छ’ उनले भनिन् ।
उनी भन्छिन् ‘काठमाडौँमा रहँदा ठूलो महल बनाउने काम गरिन्छ गाउँमा मेरो सानो घर छ, यस्तै ठूलो घरमा बस्ने त रहर लाग्छ नी तर....’, यति भनेर उनी चुपचाप काम तिर लागिन् ।
इट्टा नबोक्नुको विकल्प छैन
शुशान्त यादव सर्लाहीका हुन् । १८ वर्षका उनले गिट्टी, इट्टा बोक्ने काम गर्न सुरु गरेको ९ वर्ष भयो । अहिले उनको मासिक तलव २० हजार हुन्छ । उनले पनि आफ्नो कमाईको बढी भाग घरमा पठाउँछन् त्यहि पैसाले उनको घरको जोहो टर्छ ।
पढ्ने, खेल्ने र रमाउने उमेरमा चर्को घाममुनि पसिना चुहाउँदै काम गर्ने पक्कै उनको रहर होईन । ‘ अर्काे विकल्प पनि त छैन’, उनले भने ।
खोटाङका कुमार राई पनि बानेश्वरमा बनिरहेको एउटा महलमा बालुवा चाल्ने, बोक्ने काम गर्छन् । उनी भन्छन् ‘आफ्नो सानो झुपडी छ दिनभरी ठूलाठूला महलको वरपर काम गर्नुपर्छ तर पनि खुशी नै छु ’ ।
‘सानो पक्की भरमा परिवारलाई राख्ने सपना छ’
‘यति दुख गरेर पनि परिवारलाई राम्रो घरमा राख्न पाएको छैन, पाउँदिनँ पनि होला’ झापाका बलबहादुर भुजेलको भनाइ हो यो । ४८ वर्षका बलबहादुरको पनि एउटै सपना छ एउटा सानो भए पनि पक्की घरमा परिवारलाई राख्ने ।
‘८ वर्षदेखि विभिन्न ठाउँमा महल बनाउने काम गरिरहेको छु तर पनि अहिलेसम्म परिवारलाई पानी पर्दा नचुहिने घरमा राख्न सकेको छैन’ उनले दोहो-याए।