काठमाडौं । राष्ट्रिय सभाका सांसद तथा संघियताविद् खिमलाल देवकोटाले स्थानीय तहमा कामका आधारमा बजेट स्थानान्तरणको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।
राम्रो काम गर्ने स्थानीय सरकारको बजेट बढाई दिने र सुचांकहरुमा राम्रो नदेखिएकाहरुको बजेट घटाउने व्यवस्था गर्न उहाँले सुझाव दिनुभयो ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उहाँले स्थानीय सरकारलाई एकातिर बलियो र अधिकार सम्पन्न बनाउनु पर्ने र अर्को तर्फ जिम्मेवार र जवाफदेही बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीय सरकारलाई जिम्मेवार बनाउन जनतालाई जागरुक बनाउनु पर्ने सांसद देवकोटाको भनाई छ । उहाँले स्थानीय सरकारले गरेका कामका बारेमा स्थानीय जनताले नै निगरानी गरिरहनु पर्नेमा जोड दिनुभयो ।
“जनता जागरुक भए भने स्थानीय सरकार जिम्मेवार, जवाफदेहि हुन्छन, त्यहाँका विक्रिति र विसंगती पनि कम हुन्छन र सेवा प्रवाह पनि प्रभावकारी हुन्छ,” पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो ।
संघियताविद् देवकोटाले स्थानीय तहमा धेरै राम्रा काम भएको दावी गर्दै त्यसको सिको अन्य पालिकाहरुमा पनि गर्ने प्रबृत्तिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।