काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिको स्पिडमा कर्मचारीहरूले काम गरिदिएमा देशमा धेरै विकास हुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिलाई आफ्नै महत्त्वाकाङ्क्षा, जनताको दबाब र समयको पाबन्दी हुने भएकाले धेरै काम गर्नुपर्ने बाध्यता हुन्छ, त्यसलाई कर्मचारीहरूले साथ दिनुपर्छ ।’
जनप्रतिनिधिले आफ्नोलागि भन्दा पनि गाउँ ठाउँ र जनताकै लागि काम गर्ने भएकाले त्यसमा साथ र सहयोग गर्नु कर्मचारीहरूको पनि कर्तव्य भएको उहाँको भनाई छ । जनप्रतिनिधिहरूको स्पिड र स्पिडमा कर्मचारीहरूले साथ दिन सकेमा देशमा विकास धेरै चाँडो हुने र जनता लाभान्वित हुने उहाँले दाबी गर्नुभयो ।
महानगर प्रमुख कोइरालाले स्थानीय तहमा धेरै विकास निर्माणका कामहरू भइरहेपनि त्यसले पर्याप्त चर्चा पाउन नसकिरहेका बेला पालिका बहसले जनप्रतिनिधिहरूलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहमा केही नराम्रा काम भएपनि राम्रा काम धेरै भएको दाबी गर्नुभयो ।
उहाँले विराटनगरमा पनि विगतमा कहिल्यै नभएका र पहिला गर्न नसकिएका धेरै काम अहिले आफूले एक वर्षमै गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकाल सकिँदा सम्म विराटनगरमा धेरै परिवर्तन गरिसक्ने अठोट पनि व्यक्त गर्नुभयो ।