काठमाडौं। नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। बेलाबखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिने सुन,लागूऔषध, मेसिनरी सामानका कारण यो भूमि तस्करको अखडा बन्दै गएको हो। विमानस्थलबाट करिब एकसय किलो हाराहारीमा सुन भित्रिँदै गर्दा भन्सार जाँचमा थाहा नहुनु, त्यहाँको डिक्टेटर नकराउनुले कर्मचारीमाथि आशंका पैदा गरेको छ।
अवैध रुपमा भित्रिएको सुनको एक्सरे मार्फत् चेकजाँच गरी खोलेर हेरिएको भन्सार विभागका प्रवक्ता अम्बिकाप्रसाद खनालले बताउनुभयो। सीसीटिभी फुटेजमा हेर्दा नियम अनुसार जाँचकीबाट तोक लागेको छ, र अन्तिममा जाँचपास गरेको व्यक्तिले सामान बाहिर निकालेको पाइएको छ।
प्रवक्ता खनालले अवैध रुपमा भित्रिने सामानमा केमिकल प्रयोग गरेको भए डिक्टेटरले समेत थाहा नपाउने बताउनुभयो। उहाँले सबै विषय अनुसन्धानपछि खुल्ने पनि बताउनुभयो।
नेपाल प्रहरीका पूर्व डिआईजी केशव अधिकारीले नेपालमा सुन तस्करी सामान्यतया भइरहने दाबी गर्नुभयो। यो ठूलो परिमाणको तस्करी भएकोले मात्रै बाहिर आएको दाबी गर्दै उहाँले सुन तस्कर र गुण्डाहरुलाई राजनीतिक रुपमा नै संरक्षण गरिएको बताउनुभयो। विगतको इतिहास हेर्दा उच्च तहका भनिएका नेताहरुको संरक्षणमा सुन तस्करी मौलाएको छ।
एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ। चार्ल्स सोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई सम्झाउने गरी एकसय किलो सुन अवैध रुपमा भन्सार पास भएको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीको भनाइ छ।
यता,नेपालमा सुन तस्करीका घटना बाहिरिँदा जोडिने नाम हो व्यवसायी दीपक मल्होत्रा। अहिलेको सुनकाण्डमा पनि केही सञ्चारमाध्यममा उहाँको संलग्नता रहेको भन्दै समाचार आएका थिए। तर, मल्होत्राले यो काण्डमा आफ्नो कुनै संलग्नता नरहेको पत्रकार सम्मेलनमार्फत् दाबी गर्नुभएको छ। ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल हुन पुगेको छ।
यहाँको अन्तर्राष्ट्रिय विमानस्थल निकै असंवेदनशील रहेको खुलेको छ। कुनैपनि मुलुकमा हुने चोरी,तस्करी कर्मचारी र त्यहाँको प्रशासन नमिलेसम्म सम्भव हुँदैन, पटकपटक हुने तस्करीबाट पनि चनाखो हुनुको साँटो ठूलो परिमाणमा अवैध सुन भित्रिनु लज्जाको विषय हो।