नेपालमा पछिल्लो पटक थप पाँच जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा दुई, बुटवल, धरान र वीरगंजमा एक–एक जना गरि ५ जनाको मृत्यु भएको हो। बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय बृद्धको गएराति मृत्यु भएको छ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साँढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभयो।
यस्तै, धरानमा अर्का एक जना संक्रमितको ज्यान गएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो । विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो।
प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति भर्ना भएका र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुुभयो । यसैगरी, रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुुभयो ।
उता, बाँकेमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवै जना शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।