काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विस्थापित गर्न नहुने बताउनुभएको छ । प्रचण्डको सरकार भ्रष्टाचारविरुद्ध देखिने गरी लागेको बताउँदै अहिले यसलाई हटाउनु भनेको भ्रष्टाचारीहरू उम्काउनु भएको उहाँको तर्क छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै दीक्षितले भन्नुभयो, ‘हामी कति अस्थिर हुने? बल्लबल्ल भ्रष्टाचारको फाइल खोलिन थालेको छ । कमसेकम यसलाई टुंगोमा पुर्याऊँ न । यसले भारत, चीन, युरोप, अमेरिकासँग राम्रो सम्बन्ध राखेको छ । मिटरब्याजीविरुद्ध कदम चालेको छ।’
डा. दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर प्रशंसा गर्नुभएको छ । मुलुकमा २००७ सालदेखि नभएको कुरा अहिले भएको दाबी गर्दै उहाँले गृहमन्त्री श्रेष्ठलाई सबैले साथ दिनुपर्ने औंल्याउनुभयो। प्रचण्डले खुट्टा कमाए पनि गृहमन्त्री श्रेष्ठले काम गर्न सक्ने उहाँको विश्वास थियो । उहाँले पर्यटनमन्त्री सुदन किराँती, बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेको पनि सँगसँगै प्रशंसा गर्नुभयो।
अर्को प्रसंगमा डा. दीक्षितले नेपाली कांग्रेस संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापालाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘म गगन थापालाई वेलडन भन्न चाहन्छु । अब शेरबहादुर देउवा कति चोटि प्रधानमन्त्री हुने? उनले कांग्रेसलाई माओवादी भित्र घुसाएर खत्तम पारे । अब देउवा हट्नैपर्छ । गगन आउनै पर्छ ।’ साथै उहाँले शेखर कोइरालाले ढुलमुलेपन देखाएको आरोप लगाउनुभयो ।