Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आजदेखि पालिका बहस सुरु 

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आजदेखि पालिका बहस सुरु 

  • सोमवार, श्रावण १ २०८०

  • 2.0K
    SHARES

  • नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा आजदेखि पालिका बहस सुरु 
    काठमाडौं । नेपाली रेडियो नेटवर्कले आजदेखि पालिका बहस सुरु गरेको छ । हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म प्रसारण हुँदै आएको नेपाली बहसमा आजदेखि पालिका बहस पनि समावेश गर्न थालिएको हो । 
     
    पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आउनु भएको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम नेपाली बहसमा अबदेखि स्थानीय तहका जनतालाई जगाउने र पदाधिकारीलाई जिम्मेवार बनाउने गरी पालिका बहस सुरु गरिएको नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहलाई थप प्रभावकारी र जिम्मेवारमुखि बनाउन यस कार्यक्रमले सशक्त रूपमा आवाज उठाउने उहाँको विश्वास छ ।
     
    कार्यक्रममा स्थानीय तहका प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितका पदाधिकारीहरू, उपविजेता, स्थानीय तह सम्बन्धी नीति निर्माता, विज्ञ, स्थानीय जनता र सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । 
     
    पालिका बहसको पहिलो शृङ्खलामा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कार्यक्रमको प्रशंसा गर्दै सबैतिरबाट यस्तै प्रयासको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले जनताका आवाजहरू उठाउने नयाँ मोडलको सुरुवात भएको बताउँदै स्थानीय तहको समस्यालाई राष्ट्रिय मुद्दा बनाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
     
    पालिका बहस स्थानीय तहमा भएका राम्रा कामहरूलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले जानकारी दिनुभयो । 
     
    त्यसैगरी नराम्रा कामहरूको भण्डाफोर गरेर निरुत्साहित गराउने, सरोकारवालाहरूलाई खबरदारी गर्ने, समस्याहरूको समाधान गराउने, स्थानीय तहको आवाजलाई देशव्यापी बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको उहाँको भनाई छ । 
     
    नेटवर्कले बिहान साढे ५ बजेको नेपाली खबरमा पनि स्थापनाकालदेखि नै खास खबरको रुपमा स्थानीय तहका असल अभ्यासहरूको समाचारलाई पहिलो समाचारको रुपमा प्रसारण गर्दै आएको छ । “राष्ट्रिय सञ्चार माध्यमको मुख्य बुलेटिनमा स्थानीय तहको समाचारलाई दैनिक रुपमा पहिलो समाचार बनाउने सञ्चार माध्यम सायद हामी मात्रै हौँला,” समाचार निर्देशक भण्डारीले भन्नुभयो । 
     
    उहाँका अनुसार स्थानीय तहका बारेमा सकारात्मक धारणा बनाउन र स्थानीय तहप्रतिको भरोसा र विश्वास बढाउन बिहानको खास खबरले धेरै योगदान गरेको छ । 
     
    नेपाली रेडियो नेटवर्कमा अहिले रेडियो एनआरएन ९९.१ सहित देशभरी २०० भन्दा बढी स्थानीय रेडियोहरू आबद्ध छन् भने नेपाली नेटवर्क डटकम अनलाइन र नेपाली नेटवर्क अनलाइन टिभी पनि सञ्चालित छन् । 
     


    सोमवार, श्रावण १ २०८००८:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij