काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक भएको बताउनुभएको छ ।
तेस्रो पटक नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको स्मरण गराउँदै नेता खड्काले अमेरिकासँग नेपालको कुनै पनि समस्या नभएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहससमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले नेपालको गरिबी हटेर आर्थिक समृद्धि हुन्छ भनेरै विद्युत् प्रसारण लाइन बनाउन, सडक सुधार गर्न ५० करोड अमेरिकन डलर मागेको स्पष्ट पार्नुभएको छ ।
अर्को प्रसंगमा खड्काले चिनियाँ प्रतिमण्डलले बीआरआई कार्यान्वयनमा दबाब दिए पनि नेपालले चीनको महँगो ऋणको बोझ थाम्न नसक्ने औंल्याउनुभयो । छिमेकी भारतको प्रसंगमा भने उहाँले घनिष्ट सम्बन्ध भएको देशमा नै समस्या हुने पनि बताउनुभयो ।