Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाटो बन्द भएपछि पहिरो पिडितले राहत पाएनन्, ६ जनाको सामूहिक दाहसंस्कार

बाटो बन्द भएपछि पहिरो पिडितले राहत पाएनन्, ६ जनाको सामूहिक दाहसंस्कार

  • आइतवार, आषाढ २१ २०७७

  • 1.1K
    SHARES

  • बाटो बन्द भएपछि पहिरो पिडितले राहत पाएनन्, ६ जनाको सामूहिक दाहसंस्कार

    बझाङ । शुक्रबार राति १ बजे गाउँको मध्य भागमा पहिरो गएपछि विस्थापित भएका परिवारहरुको बिचल्ली भएको छ । लगाएको लुगाबाहेक सबै घरसहित पहिरोले बगाएपछि केदारस्यूँ गाउँपालिका (८, मल्लेसीका १८ परिवारलाई खान बस्न तथा लुगाकपडाको समस्या भएको छ ।

    पानी परिरहेकाले गाउँमा फेरि पहिरो जानसक्ने डरले गाउँका अन्य मानिससमेत आफ्नो घरमा बस्न सकेका छैनन् । पहिरोबाट वस्थिापित भएकाहरुलाई स्थानीय नवादेउ प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको भएपनि खानबस्नसमेत समस्या भएको छ । मल्लेसी गाउँ जाने बाटोसमेत अविरल वर्षाका कारण अवरुद्ध भएपछि स्थानीय बजार झोताबाट राहत सामग्रीसमेत गाउँ पुर्याउन सकिएको छैन ।

    गाउँनजिकै खाद्य सामग्री नपाउने अवस्था आएपछि शुक्रबार रातिदेखि भोकभोकै बस्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ छ । घरखेत बगाएर सुकुम्बासी बनेका स्थानीयलाई गृह मन्त्रालयले हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुरनजिकै रहेको भोपर ब्यारेकमा राहत सामग्री ढुवानी गरी स्थानीय प्रशासनले केदारस्यूँ गाउँपालिकाको झोता बजारसम्म शुक्रबार साँझ पुर्याएको थियो ।

    मल्लेसी गाउँ जान बाटो अवरुद्ध भई स्थानीय जुईलीगाडमा बाढी आएकाले राहत सामग्री पुर्याउन सकेको छैन । स्थानीय सुरेश जेठाराका अनुसार बाहिरबाट गाउँमा आउन निकै समस्या छ । बाटो छैन । हिजोदेखि पहिरोबाट विस्थापित मात्र होइन गाउँका अन्य छिमेकीसमेत डरले आफ्नो घर बस्न सकेका छैनन् । ६५ परिवार बसोबास गर्दैआएको मल्लेसी गाउँमा २० परिवार घरबारविहीन भएका छन् भने छ जनाको पहिरोमा परी मृत्यु भएको छ र एक जना अझै बेपत्ता छन् ।

    गाउँ घड्यानमा एक दिनको लागि व्यवस्थापन गरिएको केदारस्युँ गाउँपालिका ८ का वडा अध्यक्ष गणेश बोहराले बताउनुभयो । उहाँले विद्यालयमा रहेकाहरूलाई सामूहिक रुपमा खानाको व्यवस्थापन गरिएको र घड्यान गाउँमा गएकाहरूलाई त्यहाँका स्थानीयले खाना र बासको व्यवस्था गरेको बताउनुभयो ।

    पहिरो पीडितहरूका लागि भनेर नेपाली सेनाको हेलिकोप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुयो । उहाँले थप राहत लिएर पुर्याउने व्यवस्थापन भइरहेको बताउनुभयो । पहिरोमा ज्यान गुमाएकाहरूका लागि तत्काल क्रिया खर्चबापत ३५ हजार रुपियाँ गाउँपालिकाले दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताउनुभयो । यस्तै, पहिरोले २० परिवारका ११० पशुचौपाया मरेका छन् ।

    पहिरोमा परी मृत्यु भएका छ जनाको आज गाउँलेहरूले सामूहिक दाहसंस्कार गरेका छन् । हिन्दु संस्कार अनुसार स्थानीय घाटमा उहाँहरूको सामूहिक अन्त्येष्टि गरिएको छ । शुक्रबार राति गाउँमाथिको रातो पड सामुदायिक वनबाट पहिरो खसेपछि छ जना घरसँगै पहिरोमा पुरिएका थिए भने एक जना बेपत्ता भएका थिए ।

    एकै घरका चार जना आफ्नै घरभित्र पुरिएको अवस्थामा फेला परेका थिए । पहिरोमा परी ४४ वर्षीया राममती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी सात वर्षीया अस्मीता जेठाराको शव निकालिएको थियो ।

    राममतीकी छोरी शान्ति स्थानीय भैरव माध्यमिक विद्यालय, झोतामा कक्षा १० मा अध्ययनरत हुन् भने उहाँका छोरा प्रयाराज कक्षा ३ र छोरी अस्मीता कक्षा १ मा स्थानीय नवादेउ प्राविमा अध्यायनरत हुन् । नवराज जेठाराकी १२ वर्षीय सन्तु जेठारा भैरव मावि झोतामा कक्षा ७ मा अध्ययनरत हुन् । यस्तै ८० वर्षका दले जेठाराको शव पनि पहिरोमा फसेको अवस्थामा निकालिएको थियो । उहाँहरू सबैको आइतबार दाहसंस्कार गरिएको छ ।

    पहिरोमा पुरिएका २० वर्षीया गिरीजा जेठारा बेपत्ता भएका थिए भने उहाँको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो । राममतीका श्रीमान कटे जेठारा रोजगारीका लागि भारतको पिथौरागडमा थिए । आफ्नै घरको चार जना पहिरोमा परी मृत्यु भएको खबर पाएपछि घर आउन हिँडेका उहाँ बैतडी र भारतको सिमावर्ती क्षेत्र झुलाघाट नाकाबन्द भएपछि अलपत्र पर्नुभएको छ ।

    उहाँको घरको चारै जनाको मृत्यु भएपछि अब उहाँको परिवारमा उहाँ एक्लै हुनुभएको छ । पहिरोले गाउँको बिच भाग हुँदै १८ घरहरू बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ ।

    गाउँअगाडि भएको झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरिएको छ । अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । जुईली गाड र सुङरी गाडको बिचमा रहेको उक्त गाउँ जान आवतजावत गर्नसमेत समस्या छ । दुवै गाडमा अत्यधिक पानी बढेपछि अरु गाउँसमेत जान समस्या छ ।


    आइतवार, आषाढ २१ २०७७०२:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij